दफा ७८
गोपनीयता कायम राख्‍नुपर्ने
(१) कसैले पनि बाल अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा त्यस्तो मुद्दासँग सम्बन्धित बालबालिकाको परिचय खुल्ने कुनै पनि विवरण कुनै छापा वा विद्युतीय सञ्‍चार माध्यमद्वारा प्रकाशन वा प्रसारण गर्न हुँदैन।
(२) कसैले पनि बालबालिका विरुद्धको कसूरबाट पीडित बालबालिकाको पहिचान खुल्ने गरी कुनै पनि सञ्चार माध्यममा सूचना वा समाचार सम्प्रेषण गर्नु हुँदैन।
(३) प्रहरी, सरकारी वकिल वा बाल अदालतले बालबालिका विरुद्धको कसूरबाट पीडित बालबालिकाको वास्तविक नाम र पहिचान नखुल्ने गरी अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ।
(४) अनुसन्धान अधिकारी, सरकारी वकिल तथा बाल अदालतले कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको पहिचान गोप्य राख्नु पर्नेछ। त्यस्तो आरोपसँग सम्बन्धित कागजातको प्रतिलिपि सम्बन्धित प्रहरी तथा सरकारी वकिल कार्यालय, बाल अदालत, सम्बन्धित बालबालिका, निजका परिवारका सदस्य, संरक्षक, सम्बन्धित कानून व्यवसायी र केन्द्रीय तथा जिल्ला बाल न्याय समिति बाहेक अरूलाई दिइने छैन।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा देहाय बमोजिम बालबालिका सम्बन्धी विवरण प्रकाशन वा प्रसारण गर्न सकिनेछः-
(क)   कानूनको विवादमा परेका बालबालिका सम्बन्धी कुनै विवरण प्रकाशन वा प्रसारण गर्दा त्यस्तो बालबालिकाको हित प्रतिकूल नहुने भएमा बाल अदालतको अनुमतिले त्यस्तो विवरण,
(ख)   कानूनको विवादमा परेका बालबालिका सम्बन्धी तथ्यांक कुनै अध्ययन वा शोधकार्यको लागि सम्बन्धित निकायको अनुमतिले बालबालिकाको नाम, थर, व्यक्तिगत विवरण र ठेगाना उल्लेख नगरी उमेर वा लिङ्गको आधारमा प्रकाशन गर्न।